स्वच्छ हावाको लागि साईकल

The Talk

नेपाल साइकल सोसाइटीद्वारा आयोजित “स्वच्छ हावाका लागि साइकल” कार्यक्रम सम्पन्न भएको छ। बुधबार त्रिपुरेश्वरस्थित मार्टिन चौतारीमा एक कार्यक्रममा  वायु प्रदूषण रोक्न साइकलको प्रयोग उपयुक्त हुने जनाइएको छ। कार्यक्रममा सहरी योजनाकार रिजा जोशीले काठमाडौँ उपत्यकामा साइकलको प्रयोगको सम्भावनाबारे चर्चा गरेकी थिइन्। काठमाडौँ उपत्यकामा भएको वायु प्रदूषण रोक्न साइकल लेन तथा यातायात सम्बन्धी ऐन तथा नियममा पनि साइकललाई यातायातको साधनको रुपमा विस्तार गरी  निश्चित नियम बनाउनुपर्ने उनले बताइन्। उनले भनिन्,”हाम्रो देशको यातायातसम्बन्धी कानुन नै साइकलको लागि बनेको छैन। काठमाडौँ उपत्यकामा साइकलको प्रयोग बढाउने हो भने साइकल लेनको विस्तार गर्नुपर्दछ। यससँग सम्बन्धित यातायात ऐन पनि ल्याउनु जरुरी छ।”
 
कार्यक्रममा जनस्वास्थ्यविद डा. शरद वन्त पनि सहभागी थिए। उनले साइकलको प्रयोगले वायु प्रदूषणलाई रोक्न सहयोग गर्ने बताए। उनले भने,”साइकलको प्रयोग पूर्णरूपमा वायु प्रदूषणको नियन्त्रण होइन। तर यसले यातायातको साधनबाट हुने वायु प्रदूषण रोक्न भने काम गर्छ।” 

कार्यक्रममा फ्रान्सको पेरिसमा गत १० वर्ष यता साइकल लेनको प्रयोग गरी साइकललाई यातायातको साधनको रुपमा विस्तार गर्दा ४० प्रतिशतसम्म वायु प्रदूषण घटेको तथ्याङ्कहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल साइकल सोसाइटीमा आबद्ध रही नेपालमा साइकलको सम्भावना र यसको विस्तारका स्थानीय तहको भूमिकाको बारेमा पनि चर्चा गरिएको थियो। नेपाल साइकल सोसाइटीले साइकल प्रयोग र यसको प्रवर्धनका लागि शनिबार काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्ने भएको छ।

टुँडिखेलमा मानव साँग्लो

वैशाख २७ गते शनिबारको दिन नेपाल साइकल सोसाइटीको सँयोजकत्वमा काठमाडौं उपत्यकामा सक्रिय साइकल सँस्थाहरुको सामुहिक नेतृत्वमा भएको वायुप्रदूषणको विरुद्ध नागरिक तहमा आवाज उठाउदै साइक्लिस्टहरु, पैदलयात्रीहरु , सचेत नागरिकहरु र सँस्थाहरु टुडिखेल वरिपरि १ घन्टा मानव साँग्लोमा सहभागी भए। काठमाडौंको विश्वकै सबैभन्दा प्रदुषित वायुप्रदूषण कम गर्न तत्कालीन र दिर्घकालिन योजना, कार्यक्रमहरु यहि आउने नयां बजेटमा ल्याउनु पर्ने र साइकल तथा सस्टेनेबल मोबिलिटीलाइ बिकासको प्रमुख धारमा समेट्दै र नितीगतरुपमा अँगीकार गर्दै राष्ट्रिय साइकल दिवस घोषणा गर्न लगाएका माग गरिएको यस किसिमको कार्यक्रम एैतिहासिक रुपमा नै पहिलो हो। कार्यक्रममा लगभग ७०० साइक्लिस्टहरु , पैदलयात्रीहरु र नागरिकहरुको सहभागीता थियो।

#स्वच्छहावाकोलागिसाईकल #letmebreathe #kathmanduworstairpollution #civilvoiceagainstairpollution

कार्यक्रम मिति: बैशाख २७ गते शनिबार

समय: बिहान ७:३० देखि ९:३० बजे सम्म
कार्यक्रम स्थल : टुडिखेल
अनुसूची
६:०० बजे – उपत्यकाका विभिन्न स्थानहरुमा भेला
६:३० बजे – साइकल / पैदल यात्रा आरम्भ
७:३० बजे – टुँडिखेलमा भेला
८:०० बजे – टुँडिखेलमा मानव सांग्लो बनाई संदेश मुलक प्ले कार्ड डिस्प्ले
९:०० बजे – डिस्प्ले समापन गरि टुँडिखेल वरिपरी घुम्ने
९:३० बजे – कार्यक्रम समापन

विश्व साइकल दिवसको उपलक्ष्यमा साइकल र्याली

हालसालै बढेको वायुप्रदूषणका कारण हाम्रा शहरहरू आक्रान्त भई श्वासप्रश्वासका रोगहरू बढेको अवस्था सर्वविदित छ। सो अवस्थालाई ध्यानमा राखी सवारी उत्सर्जनबाट हुने वायुप्रदूषण बारे सचेत गराउन र सवारी उत्सर्जन घटाउनका लागि दैनिक साइकल यात्रालाई प्रोत्साहन दिने उद्देश्यले विभिन्न संस्थाहरूको सहकार्यमा “स्वच्छ हावाको लागि साईकल” नामक ध्यानाकर्षण कार्यक्रमहरू आयोजना गरिएका थिए।

मोटर जडित सवारीलाई घटाई प्रदूषणमुक्त सवारी—साइकल—लाई प्रोत्साहन गर्नु आवश्यक छ। साइकल यात्रा सुरक्षित र सहज भएमा गाडी र बाइक चालकले पनि साइकल प्रयोग गर्ने वातावरण बन्न सक्छ। तर, प्रत्येक वर्ष सडक दुर्घटनाहरू बढिरहेका छन्। नेपाल प्रहरीको विवरणअनुसार, आर्थिक वर्ष २०७१/७२ देखि २०७८/७९ सम्मको ८ वर्षमा १९,००० नेपाली नागरिकहरूले सडक दुर्घटनामा ज्यान गुमाएका थिए भने ९६,००० नागरिकहरू घाइते भएका थिए। तीमध्ये ३८,७४६ जना गम्भीर घाइते र ९६,४२९ जना सामान्य घाइते थिए।

यसै सन्दर्भमा, हामीले विभिन्न संस्थाहरूको सहकार्यमा “विश्व साइकल दिवस (जुन ३)” को अवसर पारेर २०८२ जेठ १७ गते एक भव्य साइकल र्याली आयोजना गरेका थियौं, जसको उद्देश्य सम्बन्धित निकायहरूको ध्यानाकर्षण गर्नु र साइकलप्रति जनचासो बढाउनु थियो। र्यालीमा सहभागी हुन दर्ता पनि गरिएको थियो र “स्वच्छ हावाको लागि साईकल” अभियानलाई अघि बढाउन इच्छुकहरूले स्वेच्छिक आर्थिक सहयोगसमेत प्रदान गरेका थिए।

Video